नियम १३५
असाधारण पारिवारिक निवृत्तिभरण र उपदान
: (१) कुनै प्रहरी कर्मचारी आफ्नो कर्तव्य पालन गर्दा वा तालीम लिँदा कुनै चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी जतिसुकै वर्ष पुगेको भए तापनि मृतक प्रहरी कर्मचारीको परिवारको सदस्य मध्ये नियम
१३३ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलबको आधा पारिवारिक निवृत्तिभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछ :–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष देखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौं महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा खटिएका बखत वा प्रचलित कानून बमोजिम खटिएको अवस्थामा भीर, पहरा, खोलानालामा लडी वा कुनै पनि प्रकारको हतियारको चोटबाट वा कुनै आकस्मिक
दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तहमाथिको पदमा पदोन्नति दिई सोही पद अनुसारको पुरा तलब निजको परिवारले त्यस्तो प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म पाउनेछ । उक्त पुरा तलब पाउने अवधि व्यतित भएपछि मृतक प्रहरी कर्मचारीको सेवा अवघि निवृत्तिभरण पाक्ने अवधि भन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधिसरह र निवृत्तिभरण पाक्ने अवधि भन्दा बढी सेवा अवधि भएमा सोही बमोजिम मृतक प्रहरी कर्मचारीको परिवारले निवृत्तिभरण पाउनेछ ।
(३) यस नियम बमोजिम असाधारण पारिवारिक निवृत्तिभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजिवन र छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा नगरेसम्म वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(४) कर्तव्य पालनाको शिलशिलामा खटिएको वा खटिने क्रममा बाटोमा आउँदा जाँदा वा अन्य कार्य गर्दा बाटोबाट वा कार्यस्थलबाट अपहरणमा परी हत्या भएको भरपर्दो सूचना प्राप्त भएको तर लास फेला पर्न नसकेको अवस्थामा सम्वन्धित प्रमुख जिल्ला अधिकारी र सम्वन्धित प्रहरी कार्यालयको प्रमुखको संयुक्त प्रतिवेदनको आधारमा हत्या गरिएका प्रहरी कर्मचारीको परिवारलाई उपनियम (१) र (२)
बमोजिमको सुविधा दिइनेछ ।
(५) उपनियम (२) बमोजिम प्रहरी कर्मचारीको परिवारले तलब पाईरहेको अवस्थामा बहालवाला प्रहरी कर्मचारीको तलबमानमा वृद्धि भएमा प्रहरी कर्मचारीको परिवारले पाउने तलबमा समेत सोही बमोजिम वृद्धि हुनेछ ।